तनावपूर्ण बनेको दोस्रो मैत्रीपूर्ण खेलमा नौ खेलाडीमा सीमित मौरिससमाथि नेपालले १-० को जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पनि १० खेलाडीमा सीमित बन्दै खेलको अन्त्य गरेको थियो । नेपालले पहिलो मैत्रीपूर्ण खेलमा शनिबार अफ्रिकन पाहुना टोलीलाई समान १-० ले नै पराजित गरेको थियो ।
१०औं मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै नेपालको जितमा पर्याप्त बन्यो। नविन गुरुङले प्रहार गरेको कर्नर मोरिससका खेलाडीबाट रिबाउन्ड आएपछि आशिष लामाले प्रहार गरे। आशिषको प्रहारमा पुजन उपरकोटीले गरेको ब्याक फ्लिकलाई सुजलले पनि ब्याक फ्लिकमार्फत नै बललाई पोस्टको दिशा दिए।
मैत्रीपूर्ण खेलमा मौरिससविरुद्ध अग्रता दिलाउँदा सुजलले ६ वर्षपछि गोल गरेका हुन्। राष्ट्रका लागि यो उनको तेस्रो गोलसमेत हो। यस अघि सुजलले २०१६ मा सोलिडारिटी कपमा नेपालका लागि अन्तिम गोल गरेका थिए। सुजनले यस अघि टिमोर लिस्टे र लाओसबिरुद्ध गोल गरेका हुन् ।
लगत्तै अर्को मिनेटमा माैरिससले पेनाल्टीमा गोल गर्ने सुनौलो अवसर गुमायो । नेपाली डिफेन्डर दिनेश राजवंशीले लिन्सले ब्रेजमाथि १८ यार्ड बक्सभित्र फउल गरेपछि माैरिससले पेनाल्टी पाएको थियो । तर, माैरिससका कप्तान एन्डि सोफीले गरेको प्रहार नेपाली कप्तान किरण चेम्जोङले उत्कृष्ट बचाए ।




