सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउने पक्षमा नरहेको बताएका छन्।
नेता सिंहले स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै हुनुपर्ने पनि स्पष्ट पारे। शनिबार काठमाडौंको चाक्सीबारीस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले संविधानको मर्म र भावना विपरित कुनै पनि तहको निर्वाचनमा जान नहुने बताए।
उनले पाँच वर्ष कार्यकाल पूरा गरेको ६ महिनाभित्र स्थानीय तहको निर्वाचन हुनुपर्छ भन्ने कुरा संविधानमा उल्लेख भएको र सोही अनुसार हुनुपर्ने दावीसमेत गरे।
त्यस अवसरमा कांग्रेस नेता सिंहले डा.मिता सिंहद्वारा लिखित पुस्तक ‘स्ट्रगल अफ गणेशमान सिंह’को विमोचन गर्दै पुस्तकमा गणेशमान सिंहले नेपालको प्रजातन्त्र स्थापनाका लागि गरेको योगदानको चर्चा गरिएको बताए। उनले सो पुस्तक नेपालको प्रजातान्त्रिक आन्दोलनबारे जान्न चाहने जो कोहीका लागि उपयोगी हुने विश्वाससमेत व्यक्त गरे।




