नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास र राजनीतिलाई सँगसँगै जोडेर लैजानुपर्ने बताएका छन्।
तनहुँकाे ऋषि गाउँपालिकाद्वारा आयोजित दोस्रो ऋषिङ अल्ट्रा म्याराथन प्रतियोगिताको समापन कार्यक्रममा आज उनले भने, “विकास र राजनीति एक अर्काका परिपूरक हो। त्यसैले विकास र राजनीतिलाई सँगसँगै लिएर जानु पर्दछ।”
विकासका क्षेत्रमा पछि परेका ऋषिङमा अहिले विकास निर्माणले गति लिन थालेको उल्लेख गर्दै उनले हिजो हामीले विकास निर्माणको सुरुआत गरेको र आज विकास भएका कारण गाउँको मुहारमा परिवर्तन आएको बताए। उनले गाउँपालिकाले खेलकुदका माध्यमबाट सिङ्गो गाउँपालिका क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न चालेको कदम सकारात्मक रहेको उल्लेख गरे।
नेता पौडेलले खेलकुद राष्ट्रको गहना भएको बताउँदै यसको सम्वर्द्धनका लागि राज्यले उचित ध्यान दिन सके सक्षम खेलाडी उत्पादनमा सहज हुनेमा जोड दिए। खेलकुद मानिसको स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण भएको उल्लेख गर्दै उनले स्थानीय तहले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर राष्ट्रियस्तरका खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताए।
वरिष्ठ नेता पौडेलले म्याराथन प्रतियोगितामा विजयी हुने खेलाडीलाई नगद, प्रमाणपत्र, मेडल र ट्रफिबाट पुरस्कृत गरे। म्याराथनको उपाधि तीर्थराज तामाङले हात पारेका छन् । ४२ दशमलव पाँच किलोमिटर लामो दूरीको उक्त म्याराथन २ घण्टा ५२ मिनेटमा पार गर्दै उनले उक्त उपाधि जित्न सफल भएका हुन्। त्यसैगरी देवराज महतराले २ घण्टा ५४ मिनेटमा सो दूरी पार गरी द्वितीय भएका छन् । यी दुबै जना त्रिभुवन आर्मी क्लबका हुन् ।




