राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि आज सबै निर्वाचन अधिकृतको कार्यालयले सबै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेका छन्। यसअघि ती कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो।
राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न निर्वाचन आचारसंहिता सोमबारदेखि लागू हुने गरी जारी गरिएको छ।
निर्वाचन आचारसंहिता, २०७२ व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ। आचारसंहिता पालना सम्बन्धित सबैको कानूनी तथा नैतिक दायित्व हुने भएकाले पूर्णरूपमा पालना गर्न/गराउन सम्पूर्ण सरोकारवालामा निर्देश गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
उक्त निर्वाचन आचारसंहिता नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र स्थानीय तह, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारीलाई लागू हुनेछ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठनलाई समेत आचारसंहिता लागू हुने आयोगले जनाएको छ।




