नेपाली कांग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताएका छन्।
थारु विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने सङ्कट’ विषयक अन्तर्क्रियामा उनले मुलुकमा पुनः कोरोनाको जोखिम बढेकाले बालबालिकालाई त्यसको खतराबाट बचाउनुपर्नेमा जोड दिएका हुन्।
नेपाल विद्यार्थी सङ्घका अध्यक्षसमेत रहेका उनले सरोकार निकायसँगको परामर्शका आधारमा स्थानीय, प्रदेश र केन्द्रीय सरकारले नै चाँडै कोरोना रोकथामको नीति अवलम्बन गर्न आवश्यक रहेको बताए।
कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य सावधानी र खोप नै सबैभन्दा उत्तम विकल्प भएकाले सरकारले सबैको पहुँचमा हुनेगरी सहजरूपले खोप उपलब्ध गराउन ध्यान दिनुपर्ने तेता महरको भनाइ थियो।
कार्यक्रममा सहभागी शिक्षाविद् एवं शिक्षा क्षेत्रका सरोकारवालाले पनि कोरोनाको अर्को लहरबाट बालबालिकालाई जोगाउन केही दिन विद्यालय बन्द गर्नु नै उत्तम विकल्प हुने सुझाव दिएका थिए।




