माओवादी केन्द्रको पदाधिकारी चयन अनिश्चित, बैठक स्थगन

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी चयन अनिश्चित बनेको छ । अध्यक्षपछिका बाँकी पदाधिकारी चयन गर्न यही पुस २५ गते बस्ने भनिएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगन भएको छ ।

भर्खरै काठमाडौँमा सम्पन्न पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनमा सहभागी १५ नेता बिरामी परेकाले आगामी २५ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगन गरिएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

बिरामीमध्ये ९ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । केन्द्रीय कार्यालयका लेखा प्रमुख देवेन्द्र पराजुली, कार्यालय सचिव डोरप्रसाद उपाध्यायसहित केही केन्द्रीय सदस्यलाई कोरोना सङ्क्रमण देखिएपछि बिहीबारदेखि नै अध्यक्ष प्रचण्डले भेटघाट बन्द गरेका छन् ।

ढकालका अनुसार अब माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक राष्ट्रिय सभा निर्वाचनपछि मात्र बस्ने सम्भावना छ । पदावधि पूरा भएर राष्ट्रिय सभाका १९ सदस्य बिदा हुन लागेकाले तिनमा पदपूर्तिका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।

अब वरिष्ठ उपाध्यक्षसहित ७ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष चयन गर्न बाँकी छ । यसबारे निर्णय गर्न यही पुस २५ गते केन्द्रीय बैठक राख्ने निर्णय भएको थियो । माओवादी केन्द्रका एक शीर्ष नेता वर्षमान पुन अनन्त उपचारका क्रममा चीनमा रहेकाले उनी समेत सहभागी हुन भ्याउनेगरी केन्द्रीय समितिको बैठक पुस २५ लाई निर्धारण गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री