नेपाल कांग्रेसको सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवालाई नेता रामचन्द्र पौडेलले बधाई र शुभकामना दिँदै देशलाई अस्थिरताबाट जोगाउन एकताबद्ध कांग्रेसको आवश्यकता रहेको स्मरण गराएका छन् ।
कांग्रेसको १४औँ महाधिवेशनले देउवालाई सभापतिमै निर्वाचित गरेपछि बुधबार विज्ञप्ति जारी गर्दै पौडेलले देशलाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च भइरहेकाले संकटबाट देशलाई पार लगाउन एकताबद्ध र सुदृढ कांग्रेसको आवश्यकता रहेको बताएका हुन्। सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा देउवाको ध्यान पुग्नुपर्नेमा नेता पौडेलको भनाइ छ।
पौडेलले जारी गरेको विज्ञप्ति :
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित हुनु भएकोमा श्री शेरबहादुर देउवालाई म हार्दिक बधाई ज्ञापन गर्दछ । साथै, सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु।
हामी राष्ट्रिय जीवन र पार्टी जीवनको इतिहासको अत्यन्तै गम्भीर मोडमा छौं। एकातिर सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधान सभा मार्फत जारी संविधान अहिले पनि खतरामुक्त भइसकेको छैन भने अर्कातिर नेपाललाई अस्थीरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छन्। यी दुवै संकटबाट देशलाई पार लगाउनका लागि एकताबद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता हो । सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुगोस् अनि लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस्। जय नेपाल !
मितिः २०७८/८/२९
रामचन्द्र पौडेल
प्रतिकृया दिनुहॊस