बालुवाटारमा बन्यो बंकरसहितको प्रधानमन्त्री आवास

काठमाडौँ । बालुवाटारमा बंकरसहितको प्रधानमन्त्री आवास तयार भएको छ । सुरक्षाका दृष्टिले प्रधानमन्त्रीका लागि बंकरसहितको आवास भवन निर्माण गरिएको हो ।

भवन पुरानो भई जीर्ण भएपछि अहिले प्रधानमन्त्री मुख्य सचिवको सरकारी आवासमा बस्दै आएका छन् । भवन मंसिर २४ गते उक्त भवन प्रधान मन्त्रीलाई हस्तान्तरण गरिने छ । विशेष भवन निर्माण आयोजना प्रमुख दिलिपशेखर श्रेष्ठका अनुसार मंसिरभित्रै प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ आवासीय भवनमा सर्नेछन् ।

त्यसका लागि सबै तयारी करिबकरिब पूरा भएको उनले बताए । ‘मंसिर २४ भित्रै भवन हस्तान्तरण गर्न प्रधान मन्त्रीको सचिवालयले निर्देशन दिएको छ’,श्रेष्ठले भने, ‘निर्देशनअनुसार मंसिर २४ भित्रै भवन हस्तान्तरण गर्नेछौँ ।’ प्रधान मन्त्री ज्योतिषको सल्लाहअनुसार शुभ दिन छानेर नयाँ भवनमा बसाइँ सर्नेछन् ।

आयोजनाका अनुसार पहिलो तलामा बंकरको व्यवस्था छ । विशेष सुरक्षाको अवस्था आएमा प्रधानमन्त्री र उनको परिवार बंकरमा बस्न सक्नेगरी संरचना तयार गरिएको छ । आयोजनाको अर्को सार्वजनिक भवनको निर्माण कार्य भने बाँकी नै छ । सार्वजनिक यो भवन असार मसान्तसम्म हस्तान्तरण गरिने श्रेष्ठको भनाई छ ।

२०७६ भदौ १२ मा भएको सम्झौताअनुसार २०७८ भदौमा दुवै भवनको निर्माण सक्नुपर्ने थियो । बल्ल एउटा भवनको निर्माण सकिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री