नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले न्यायालयभित्रको विवाद वार्ता र संवादका माध्यमबाट छिटोभन्दा छिटो हल गर्नु पर्ने बताएका छन्।
जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्ताे बताएका हुन्।
समस्या समाधानमा ढिलाइ हुँदा आम जनतामा नकारात्मक सन्देश गइरहेकाले न्यायालयभित्रको विवाद समाधान हुनेगरी संवाद अघि बढाउन प्रधानमन्त्रीसँग छलफल भइसकेको र छिट्टै नै समस्या समाधान हुने उनले विश्वास व्यक्त गरे।
अध्यक्ष नेपालले आगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने विश्वास व्यक्त गर्दै आसन्न राष्ट्रियसभाको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भइसकेको बताए।
प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिएर जाने विषयमा नियमित छलफल भइरहेको उल्लेख गर्दै अध्यक्ष नेपालले तीनै तहको निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा पाँच दल सहमत रहेको बताए।




