कपिलवस्तुको हैजा अझै नियन्त्रणमा आएन, प्रभावित क्षेत्रमा साढे दुई लाख डोज खोप पठाइने

कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणका लागि मंसिरको पहिलो सातादेखि खोप लगाइने भएको छ। खुला दिसामुक्त उन्मुख कपिलवस्तुको पाँच स्थानीय तहमा १८ असोजदेखि फैलिएको हैजाले आधादर्जन मानिसको ज्यान गइसकेको छ।

हैजाको जोखिम निरन्तर बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट उपलब्ध ‘ओरल कोलोरा भ्याक्सिन’ खुवाउने तयारी भएको हो।

कृष्णनगर नगरपालिकामा १८ असोजदेखि फैलिएको हैजा शिवराज नगरपालिका, महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकासम्म पुगेको छ। यी स्थानका एक वर्षदेखिमाथि उमेर समूहकालाई १४ दिनको फरकमा दुई पटक भ्याक्सिन खुवाइने स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताए। ५ मंसिरमा यशोधरा गाउँपालिकाबाट हैजाविरुद्धको खोप अभियान सुरू गर्ने तयारी भइरहेको छ। बाँकी चार पालिकामा ७ मंसिरदेखि खोप अभियान सन्चालन हुनेछ।

हैजा प्रभावित क्षेत्रमा खोप खुवाउनु निकै चुनौतीपूर्ण रहेको छ। मधेसी समुदायको बाहुल्यता रहेका यी क्षेत्रमा स्वास्थ्य तथा सरसफाइलाई धेरै महत्व नदिने हुनाले खोप कार्यक्रम निकै चुनौतिपूर्ण हुने अनुमान छ। प्रभावित क्षेत्रमा खोप लगाउन प्रोत्साहन गर्न जिल्ला खोप समन्वय समितिले १४ योजना निर्माण गरेको जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद खनालले बताए।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आइतबार साँझ ६ बजेसम्म शिवराज अस्पताल बहादुरगन्जमा एक हजार तीन सय ७१ जना, बैदौली स्वास्थ्य चौकीमा ९० जना र शिवराज आधारभूत अस्पतालमा ६ जना उपचारको लागि भर्ना भएका थिए। हैजाका कारण जिल्लामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ। अस्पतालमा भने अहिलेसम्म कसैको ज्यान नगएको स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्यांक छ।

यता, ग्रामीण क्षेत्रका बस्तीहरूमा हैजाका लक्षण देखिएका बिरामी छिटपुट मात्र देखिने गरेको कालिका स्वावलम्बन सामाजिक केन्द्रका सामुदायिक परिचालक पृथ्वीपाल तेलीले बताए।

तपाईंको प्रतिकृया

लेखकबाट थप