काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई आज सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न नदिने योजना बनाएको छ । हिजो सर्वोच्च परिसरमा भएको विरोध सभामा प्रहरीले हस्तक्षेप गरेकाले आज बिहान १० बजेअघि नै भेला भएर आन्दोलन गर्न लागेको बारले जनाएको छ ।
नेपाल बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले आज सर्वोच्च अदालतको मूलगेटमा धर्ना बस्ने र प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा छिर्न नदिने बताइन् । बार एशोसिएसनका महासचिव लिलामणि पौडेलले विज्ञप्ति निकालेर सबै कानुन व्यवसायीलाई बिहान साढे ९ बजे नेपाल बार एशोसिएसनमा उपस्थित हुन निर्देशन दिएका छन् । प्रधानन्यायाधीशको विरोधमा थप कठोर कदम चाल्न बाध्य हुने बारले चेतावनी दिएको छ ।
आज सर्वोच्च अदालतका सम्पूर्ण बेञ्चमा कुनै पनि मुद्दामा बहस पैरवी नगर्न, बेञ्च बहिष्कार गर्न र न्यायाधीशलाई समेत प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले तोक्ने वा तोकेका इजलासमा नबस्न पनि बारले अपिल गरेको छ । प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै १९ दिनदेखि सर्वोच्चमा आन्दोलन भइरहेको छ । आन्दोलनकै कारण सयौं मुद्दाको सुनुवाइ प्रभावित बनेको छ ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरभित्रै प्रदर्शन गर्दै आएका छन् । बिहीबारको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा ६ जना कानुन व्यवसायीहरु घाइते भएका छन् । कानुन व्यवसायीहरुको आन्दोलन उत्कर्षमा पुगेपछि सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । बिहीबारदेखि नै सर्वोच्च अदालत परिसरभित्रै नेपाल प्रहरीका अतिरिक्त सशस्त्र प्रहरीको टोली पनि खटाइएको थियो ।




