दियालो फुडल्याण्डमा पौडेल पक्षको केन्द्रीय समिति बैठक

काठमाडौं । तीन महिनापछि बस्न लागेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको रणनीति तय गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्दैछ । नेता पौडेलले आज दिउँसो २ बजेका लागि आफू निकट केन्द्रीय नेताहरूलाई काठमाडौंको दियालो फुडल्याण्डमा बोलाएका छन् ।

बैठकमा महाधिवेशन लक्षित रणनीतिको विषयमा छलफल हुनेछ । पौडेल निकट नेता बलबहादुर केसीका अनुसार बैठकले पार्टीको आसन्न पदाधीकारी र पूर्व पदाधीकारी तथा केन्द्रीय कार्यसमिति बैठकका लागि समूहको रणनीति तर्जुमा गर्नेछ ।

पार्टीले कात्तिक २७ गतेका लागि पदाधिकारी र पूर्व पदाधीकारीहरूको बैठक बोलाएको छ । तीन महिनापछि कात्तिक २८ गते पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । ‘केन्द्रीय कार्यसमिति बैठकमा कसरी उपस्थित हुने, कस्तो रणनीति अख्तियार गर्ने भनेर रामचन्द्र दाइले बैठक बोलाउनु भएको हो’, नेता केसीले भने । बैठकमा कात्तिक २७ बाट हुने १४औँ महाधिवेशन अन्तर्गत बाँकी रहेका जिल्लाहरूको वडा अधिवेशनको विषयमा रणनीतिक छलफल गर्ने समूहको योजना छ ।

अन्य तहहरूको अधिवेशनको विषयमा समीक्षा र भावी कार्ययोजनाको विषयमा पनि छलफल हुने बताइएको छ । ‘अन्य समसामयीक राजनीतिक विषय पनि छन् तर मुख्य त महाधिवेशनको विषय नै हो’, केसीले भने । हिजो मात्र प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आसन्न महाधिवेशनका विषयमा आफू निकट नेताहरुसँग छलफल गरेका थिए । उनले महाधिवेशनमा टिम बनाएर अगाडि बढ्ने संकेत गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री