नेकपा एमालेको केन्द्रीय समिति बैठकले साढे चार सय महाधिवेशन प्रतिनिधि थप्ने निर्णय गरेको छ। बिहीबार बसेको स्थायी कमिटीले १५ सय ३६ प्रतिनिधि चयन गर्ने निर्णयसहित गरेको प्रस्तावमा आज बसेको केन्द्रीय समितिमा छलफल भएको थियो।
छलफलमा केन्द्रीय सदस्यहरूले बढाउनुपर्ने सुझाव राखेपछि ४६३ प्रतिनिधि थपिएको हो। थपिएको संख्यासँगै प्रतिनिधिको संख्या १ हजार ९९९ पुगेको छ।
‘स्थायी कमिटीबाट १५ सयभन्दा बढी प्रतिनिधि प्रस्ताव भएको थियो,’ प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘केन्द्रीय सदस्यहरूले बढाउनुपर्छ भनेर सुझाव दिनुभएको छ। सुझावअनुसार प्रतिनिधि संख्या अब १ हजार ९९९ हुनेछ । करिब ४ सय बढी सदस्य थप्ने निर्णय भएको छ।’
त्यस्तै मूल व्यवस्थापन समितिमा पनि दुई जना सदस्य थपेको छ।
शुक्रवार बसेको केन्द्रीय समिति बैठकले स्थायी कमिटी सदस्य रघुजी पन्त र केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई मूल व्यवस्थापन समितिमा थप्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।




