बाढीपहिराेमा मृत्यु हुनेकाे संख्या ४८ पुग्याे, ३१ जना अझै बेपत्ता

मुलुकका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर आज मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन्।

विभिन्न जिल्लामा ३१ जना बेपत्ता भएका छन्। गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी इलाममा ११ र डोटीमा नौ जना छन्। दुई जिल्लामा पहिराले मानवीय क्षति गराएको हो।

त्यस्तै पहिराेमा परी हुम्ला, धनकुटा र पाँचथरमा छ/छ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। बैतडीमा चार, कालीकोटमा एक, डडेलधुरामा एक, प्यूठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एक जनाको मृत्यु भएको गृहप्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिए।

पहिराेमा परेर सबैभन्दा बढी बझाङमा २३ जना बेपत्ता भएका छन्। यस्तै डोटीमा एक, प्यूठानमा दुई, इलाममा पाँच जना बेपत्ता छन्। विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन्। असोज ३१ गतेदेखि मुलुकका विभिन्न क्षेत्रमा पानी पार्ने प्रणाली सक्रिय भएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप