काठमाडौँ महानगरपालिकाले थाल्याे खसी-बोकाको परीक्षण, स्वस्थ पशु खरिद गर्न अनुराेध

काठमाडौँ महानगरपालिकाभित्रका चौपाया बजारका खसी, बोका, भेडा, च्याङ्ग्राको परीक्षण सुरु भएको छ। काठमाडौँ महानगरपालिकाले बिहीबारदेखि संघीय सरकारको पशु सेवा विभाग र वागमती प्रदेशको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग सहकार्य गरेर परीक्षण तथा अनुगमन थालेको हो।

परीक्षणको पहिलो दिन कलंकी खसी बजारमा विभागका महानिर्देशक डा. दमयन्ती श्रेष्ठ, विज्ञ केन्द्रका वरिष्ठ पशु चिकित्सक डा. गौरीमान श्रेष्ठ, महानगरको वडा १४ की अध्यक्ष शोभा सापकोटाले निरोगी खसीको सिङ्गमा हरियो रङ लगाएर परीक्षण थालनी गरिएको छ।

कलंकी काठमाडौँको ठूलो चौपाया बजार हो। यसलाई व्यवस्थित गरेपछि अन्य ठाउँमा यहाँबाट जाने चौपाया निरोगी पुग्छन्। वडाध्यक्ष सापकोटाले परीक्षणका क्रममा भनिन्, ‘संघको सहयोगमा हामीले यहाँका धेरैजसो व्यापारी व्यवसाय दर्ता गराएका छौँ। दर्तावाला व्यापारीबाट ठगी हुने सम्भावना कम हुन्छ।’

हामी पशुजन्य उत्पादन स्वस्थ्य र यसको बजार सहज होस् भन्ने चाहन्छौँ। यसका लागि कामहरु नियमित छन्। पशु सेवा विभागकी महानिर्देशक डा. श्रेष्ठले भनिन्, ‘दसैंमा धेरै मासु खपत हुने भएकोले विशेष समूह बनाएर बजारमा आएका हौँ।’

महानगरको पशु सेवा महाशाखाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. अवधेश झाका अनुसार, पहिले खसी, बोका, भेडा र च्याङ्ग्राको स्वास्थ्य जाँच गरिन्छ। यदि मासु खान योग्य देखियो भने सिंगमा हरियो रङ्ग लगाइन्छ। विरामी भएर खान अयोग्य भेटियो भने रातो रङ्ग लगाइन्छ। आवश्यकताका आधारमा यसरी विरामी भेटिएका चौपायाको नमूना संकलन गरेर परीक्षण पनि हुनेछ।

महानगरभित्रका दसैं लक्षित चौपाया बजारहरु कलंकी, खाद्य संस्थान थापाथली परिसर, टुकुचा खसी बजार र बालाजु वाइपास क्षेत्र हुन्। महानगरका पशु विकास अधिकृत डम्मरबहादुर बमका अनुसार यी बजारमा विहान ७ बजेदेखि १२ बजेसम्म एउटा टोली र १२ बजेदेखि ५ बजेसम्म अर्को टोली गरेर २ वटा टोली नियमित परिचालन हुनेछन्।

काठमाडौँ महानगरसँगै ललितपुरको लगनखेल (मच्छिन्द्र मा. वि. पछाडि), भक्तपुरको लोकन्थली, सल्लाघारी, चाल्नाखेलको राँगा बजार, चन्द्रागिरी (थानकोट) दाउरा डिपोका चौपाया बजारमा परीक्षण हुँदैछन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस