काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशनको अन्तिम दिन आज अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् ।
यस्तै महासचिव इश्वर पोखरेलले पेश गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिव बिष्णुप्रसाद पौडेलले विधान संशोधन प्रतिवेदनमा उठेका प्रश्नको जवाफ दिनेछन् ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी विधान महाधिवेशनमा शुक्रबार अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव र संगठन विभाग प्रमुख विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल भएको थियो । जसमध्ये पाँच वटा समूहले हिजै आफ्नो निष्कर्ष पेश गरिसकेका छन् ।
उनीहरुले एमसीसीबारे पार्टीको धारण स्पष्ट हुनुपर्ने सुझाव दिएका छन् । यसैगरी एक वरिष्ठसहित सात जना उपाध्यक्ष र दुई जना उपमहासचिव राख्नु पर्ने निष्कर्ष पनि समूहगत छलफलले निकालेको छ ।
ललितपुरको गोदावरीमा असोज १५ गतेदेखि सुरु भएको विधान महाधिवेशन आज सकिँदैछ । कार्यक्रममा देशभरबाट ६३४७ प्रतिनिधि सहभागी रहेको नेकपा एमालेले जनाएको छ ।




