मेस्सीले पेलेको कीर्तिमान तोडे

काठमाडौँ । लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलमा ब्राजिलका महान खेलाडी पेलेको रेकर्डलाई उछिनेका छन् । मेसीले शुक्रबार दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गतको खेलमा बोलिभियाविरुद्ध ह्याट्रिक गर्दै अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो गोल संख्या ७९ पुर्याएका छन् । मेसीले १५५ खेल खेल्दै अर्जेन्टिनाका लागि ७९ गोल गरेका हुन् ।

योसँगै मेसीले पेलेको ७७ गोलको रेकर्डलाई उछिनेका छन् भने अब मेसी दक्षिण अमेरिकी खेलाडीहरुमा अहिलेसम्मकै सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि बनेका छन् । पेलेले आफ्नो क्यारियरमा ब्राजिलका लागि ९२ खेल खेल्दै ७७ गोल गरेका थिए । योसँगै मेसी अब अन्तर्राष्ट्रिय फुटबलमा धेरै गोल गर्ने खेलाडीको सूचीमा पाँचौ स्थानमा उक्लिएका छन् । मेसीले जाम्बियाका गडफ्रे चितालुको ७९ गोलको बराबरी पनि गरेका छन् ।

अन्तर्राष्ट्रिय फुटबलमा धेरै गोल गर्ने रेकर्ड भने क्रिस्टियानो रोनाल्डोको नाममा रहेको छ । रोनाल्डोले पोर्चुगलका लागि १८० खेल खेल्दै १११ गोल गरेका छन् । त्यस्तै दोस्रो स्थानमा इरानका अलि दाइँ रहेका छन् । अलिले १४९ खेलमा १०९ गोल गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप