कार्की परिवारको हत्यास्थल पुग्यो कुकुरसहितको टोली, आजबाट अनुसन्धान

काठमाडौँ । एकै परिवारका ६ जनाको हत्या भएको संखुवासभाको मादी नगरपालिका-१ उमलिङमा फरेन्सिक र कुकुरसहितको टोली घटना अनुसन्धानका लागि पुगेको छ । घटना अनुसन्धानका लागि संघीय प्रहरी इकाई धरानबाट टोली घटनास्थलमा पुगेको हो ।

आइतबार राति परिवारका ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेज बहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्कीको हत्या भएको छ ।

आज बिहानबाट अनुसन्धान सुरु गरिएको संखुवासभाका प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले बताए । ‘सोमबार दिनभर प्रहरीले घटनास्थल सुरक्षित गरेको छ । शवहरु जहाँ जस्तो अवस्थामा छन् त्यस्तै छाडिएको छ,’ उनले भने ।

कुकुरसहितको टोली आउने भएपछि सोमबार प्रहरी शवहरु नछोएरै सुरक्षित राखेको छ । ‘मानिसहरुलाई छेउछाउ जान दिएका छैनौं । के कसरी हत्या भएको छ भन्ने अहिले पनि हामीलाई थाहा छैन, धारिलो हतियार प्रहारबाट हो भन्ने देखिएको छ, विस्तृत आज मात्रै थाहा हुन्छ’, डीएसपी सुवेदीले भने । डग स्नाफिङ गर्ने र फरेन्सिक टोलीले चेकजाँच गरेपछि मात्रै आज शव उठाइने छ ।

पैसा लुट्न हत्या गरिएको शंका
प्रहरीले प्रारम्भिक सोधपुछपछि कार्की परिवारको हत्याको पछाडि आर्थिक कारण हुनसक्ने शंका गरेको छ । कार्की परिवारले झापामा ८० लाख रुपैयाँको जग्गा किनेको र पास गर्ने समय भएकाले उनीहरुसँग भएको रकम लुट्नका लागि हत्या भएको आशंका गरिएको छ । ‘आर्थिक कुराहरु पनि सुनिएको छ । तर अहिले नै यहि भन्ने अवस्था छैन,’ डीएसपी सुवेदीले भने, ‘अब अनुसन्धानसँगै सबै कुरा खुल्दै जालान् ।’

तेजबहाहदुरका दुवै छोरा विदेशमा छन् । जेठो रमेश मलेसियामा र कान्छो नरेश दुबईमा छन् । कान्छाका भने श्रीमती र छोरा पनि झापामै बस्छन् । जेठाका भने श्रीमती र छोराछोरीको पनि हत्या भएको छ । घरमा भएकामध्ये भने ९० वर्षीय बृद्ध बौद्धमान कार्की मात्रै जोगिएका छन् । बौद्धमानकी श्रीमती ८४ वर्षीया पार्वती कार्कीको पनि हत्या भएको छ । उनको शव घरभित्रै फेला परेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री