देशभर बदली, शनिबार साँझसम्म वर्षाको सम्भावना

काठमाडौं । अहिले देशभर मौसम सामान्यदेखि पूर्णसम्म बदली भएको छ भने प्रदेश-१, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहनुका साथै देशको पश्चिमी तराई नजिक मनसुनको न्यून चापीय रेखा रहेको छ । केही दिनदेखिको झरी शनिबार साँझसम्म परिरहने भएको छ ।

आइतबार बिहानबाट मौसम केही खुल्ने वरिष्ठ मौसमविद् निराजन सापकोटा बताउँछन् । ‘बिहान पानी पर्ने दिउँसो केहीबेर रोकिने र पुनः पर्ने तथा अपराह्न ४-५ बजेदेखि कम हुने क्रम जारी रहने छ’, मौसमविद् सापकोटाले भने, ‘यो क्रम शनिबार साँझसम्म नै रहन्छ । आइतबारबाट मात्रै मौसम खुल्ने देखिन्छ ।’

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार प्रदेश–१, वागमती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

काठमाडौंमा पनि आज दिउँसो पानी पर्ने र रोकिने क्रम चलिरहने उनको भनाइ छ । आज राति देशभर सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन अनुरोध गरिएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री