काठमाडौं । कलाकार निशा घिमिरेको स्वास्थ्यमा सुधार नआएको नर्भिक अस्पतालले जानकारी दिएको छ ।
निशाको स्वास्थ्य अवस्थामा उद्धार गरिएको ३ महिनासम्म पनि अपेक्षित सुधार हुन नसकेको अस्पतालका प्रमुख कर्पोरेट कम्यूनिकेशन एण्ड पीआर सोमनाथ बास्तोलाले जारी गरेको विज्ञप्तीमा निशाको स्वास्थ्य अवस्था स्थिर रहेको उल्लेख गरिएको छ ।
उद्धार गरिएको केही दिनसम्म निशाको स्वास्थ्यमा सुधार हुने केही लक्षण देखिएपनि अहिले भने अवस्था स्थिर नै रहेको अस्पतालले जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ ‘निशाको उपचारमा लगातार नेपाल र नर्भिकमा उपलब्ध सबै खालका प्रविधि, सीप तथा विधिको प्रयोग गरिसकिएको छ । तर, पनि स्वास्थ्य अवस्थामा खासै सुधार देखिएको छैन । अहिले कलाकार घिमिरेको स्वास्थ्य अवस्था स्थिर छ ।’
नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले केही समाजसेवीहरुको सहयोग लिएर जेठ २७ गते निशाको उद्धार गरि नर्भिक अस्पतालमा उपचार सुरु गराएकी थिइन् । हालसम्म निशाको उपचारका लागि ५० लाख बढी खर्च भएको समेत जानकारी दिएको छ ।




