काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद गरेको ठूलो ९वाइड वडि० नामक २७४ सिट क्षमताको जहाज भोली काठमाडौं आउने भएको छ । निगमले अन्नपूर्ण नाम दिएको पहिलो वाइडवडि जहाज ल्याउन अन्तिम किस्ता वापतको ३ अर्ब भुक्तानी हिजो गरेपछि जहाज भोलि आउन लागेको हो । निगमले पहिलो किस्ता वापतको ८ अर्ब असार ३ गते पठाएको थियो ।
निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानीकोषबाट २५ अर्ब ऋण लिएर दुईवटा वाइडवडि जहाज खरिद गरेको छ ।
यसमध्येको पहिलो जहाज भोली बिहान साढे आठ बजे आउने वायुसेवा निगमका सहायक प्रवक्ता शैलेश कंशाकारले बताए । उनका अनुसार जहाज लिन निगमका महाप्रवन्धक सुगतरत्क कंशाकारसहितको एक टोली फ्रान्स गएको छ । टोली जहाज लिएर भोली फर्कने भएको छ ।
निगमका अनुसार पहिलो वाइड बडीका लागि २०७४ असार ३ गते पहिलो किस्तावापत ८ अर्ब रुपैयाँ पठाइएको थियो । त्यसपछि अहिले दोस्रो तथा अन्तिम किस्ता पठाइएको हो । एएआर कर्पोरेसनले वाइड बडी जहाज प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलरका दरले उपलब्ध गराउने सम्झौता गरेको छ । सोहीअनुसार पहिलो जहाजको सबै रकम पठाइएको हो ।
निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित २ सय ७४ सिट क्षमतायुक्त ‘ए३३०–२००’ सिरिजको जहाज ल्याउन लागेको हो । यसमा १८ बिजनेस क्लास र २ सय ५६ इकोनोमी क्लास सिट रहेका छन् ।
‘पहिलो वाइड बडी जहाजलाई हाइफ्लाईकै पाइलटले उडाएर ल्याउनेछन्,’ कंसाकारले भने, ‘फ्रान्सको टुलुसस्थित एयरबसको कारखानाबाट जहाज सिधै काठमाडौं आउने छ । यहाँ आइपुग्न त्यस्तै ६ देखि ७ घन्टा लाग्ने छ ।’
पहिलो वाइड बडी जहाज लिन निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, कर्पोरेट डाइरेक्टर रविन्द्र श्रेष्ठ, इन्जिनियरिङ डाइरेक्टर केबी थापा, एयर वर्दिनेस डाइरेक्टर प्रभाष कर्माचार्य, क्वालिटी एस्योरेन्स तथा फ्लाइट सेफ्टी डाइेक्टर विक्रम केसी, क्याप्टेनहरू महेश्वरमान (एमएम) डंगोल र श्रवण रिजाल, उड्डयन प्राधिकरणका प्रतिनिधिलगायतको टोली फ्रान्स गएको छ ।
काठमाडौं आएको दुई सातादेखि अधिकतम एक महिनाभित्र उक्त जहाजलाई नियमित व्यापारिक उडानमा प्रयोग गरिने निगमको योजना छ । यो वायुसेवाले लामो दुरीका उडान गर्ने भएपनि तत्कालका लागि भने खाडि मुलुकको गन्तव्यबाटै उडान सुरु गर्ने निगमले जानकारी दिएको छ ।




