काठमाडाैँ । दार्चुलामा तुइनबाट खसेर जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनामा अध्ययनका लागि घटनास्थल पुगेको छानबिन टोली विवादमा तानिएको छ । घटनाको आरोपी भनिएको एसएसबीकै सहजीकरणमा छानबिन टोली घटनास्थल पुगेको भन्दै विरोध हुन थालेको हाे ।
एसएसबीसहित घटनास्थल गस्कु पुगेको र नेपालतर्फ नआएको भन्दै वारि नेपालको मालघाटमा नेपालीहरुले नाराबाजीसहित विरोध प्रदर्शन गरेका थिए । स्थानीय र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए ।
‘एसएसबीले नै घट्ना घटाउने अनि उनीहरुसँगै गएर अनुसन्धान गर्नुका औचित्य छैन्,’ नेकपा विप्लवका जिल्ला सचिव सुवास मल्लले भने, ‘आफ्नो भूमिमा पाइला नटेकेर भारतीय एसएसबीकै इसारामा प्रतिवेदन बनाउन यो नाटक गरिएको हो । यसको विरोध गर्नुपर्छ ।’
छानबिन टोलीसँग पत्रकारलाई जान नदिएको दार्चुलाका पत्रकार नरेन्द्र कार्कीले बताए । ‘एसएसबीले नै पत्रकारलाई घटनास्थलसम्म जान रोक लगायो,’ उनले भने, ‘दोस्राे पटक जान दिएपनि क्यामरा बोक्न दिएन । बिना क्यामरा घटनास्थल पुगेका पत्रकारलाई एसएसबीले पिछा गरेर निगरानी गरिरहेको थियो ।’
छानबिन टोली नेपालतर्फ मालघाटमा पुगेको छैन । टोली त्यहाँ जाने वा नजाने भन्नेबारे छानबिन टोलीले केही भनेको छैन । टोलीकी सदस्यसमेत रहेकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टले यस विषयमा छलफल भइरहेको बताइन् ।
सात दिनपछि छानबिन समितिद्वारा घटनास्थलमा
घटनाको छानबिन गर्न आएको समिति सात दिनपछि भारतीय बाटो हुँदै घटनास्थल पुगेर फर्किएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीसहित छानबिन टोली घटनास्थल निरीक्षणमा पुगेको हो ।
व्यास गाउँपालिका-२ मालघाटको स्थलगत निरीक्षण गर्न नेपाली सुरक्षा अधिकारी र छानबिन समिति भारतीय एसएसबीसँगै घटनास्थल पुगेका हुन् । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन टोली दार्चुलाबाट धारचुला भारत हुँदै गस्कु-मालघाट पुगेको थियो । घटनास्थल पुगेको समितिले तुइन बाँधिएको रूखको नापजाँच लिएको छ । यसअघि जिल्लाबाट खटिएको अनुसन्धान टोलीले दिएको विवरणअनुसार घटनास्थलको निरीक्षण गरिएको अनुगमन समितिका सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताए ।
महाकाली तर्न नेपालतिर काठको खम्बा गाडिएको छ भने भारततर्फ टुडीको रूख छ, तर दुवैतर्फ तार छैन । रूखबाट तार झिकेको हो कि काटेको हो भन्ने देखिने गरी प्रमाण केही नदेखिएको अधिकारीहरु बताउँछन् । महाकाली नदी वारिपारि झण्डै ४५ मिटर छ । छानबिन समिति घटनास्थल भएको ठाउँबाटै फर्किएको जोशीले बताए । ‘भारतीय एसएसबीले सहजीकरण मात्रै गरिदिएको हो,’ उनले भने, ‘त्योबाहेक अन्य विषयमा छलफल भएको छैन ।’
छानबिन समितिमा गृह मन्त्रालयका सहसचिव गौतम नेतृत्वमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रजिअ भट्ट सदस्य छन् ।




