आइएमई फाउन्डेसनद्वारा तीन करोड बराबरको स्वास्थ्य उपकरण सहयोग

काठमाडौं । आइएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारकालागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई प्रदान गरेको छ ।

आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष  चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई संयुक्तरुपमा ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरे।

फाउन्डेसनले गण्डकी प्रादेशिक अस्पताल, पोखरा, कास्की, लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल, रूपन्देही, सेती प्रादेशिक अस्पताल, धनगढी, कैलाली र निजामती कर्मचारी अस्पताल (सिभिल), मीनभवन, काठमाडौंलाई ८० थान अक्सिजन कन्सन्ट्रेटर (हरेकलाई २० थान) सहयोग गरेको हो ।
त्यसैगरी, फाउन्डेसनले जनता स्वास्थ्य केन्द्रद्वारा सन्चालित आइसोलेसन सेन्टरलाई १५ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

यसका अतिरिक्त फाउन्डेसनले शुक्रराज सरुवारोग अस्पताल, टेकुमा करिब रु १,२८,००,००० बराबरको अक्सिजन प्लान्ट स्थापनाको लागि पनि प्लान्ट अर्डर गरिसकेको छ ।

यस अघि फाउन्डेसनले वैदेशिक रोजगारीमा रहँदा देहावासन भएका नेपालीहरूको घरपरिवारहरूको सहयोगार्थ ‘भरोसा कोष’ को स्थापना गरी करिव १ सय प्रभावित घरपरिवारलाई प्रतिव्यक्ति रु. ५८,००० (करिव ६० लाख) राहत उपलब्ध गराएको थियो ।
आइएमई फाउन्डेसन आइएमई ग्रुपअन्तर्गत संचालित एक मुनाफा रहित परोपकारी संस्था हो ।

फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । साथै फाउन्डेसनले विभिन्न समयमा मुलुकमा आइपर्ने स्वास्थ्य तथा प्राकृतिक प्रकोपहरुमा नेपाल सरकार तथा विभिन्न गैरसरकारी संघ÷संस्थाहरुसँग हातेमालो गरेर अघि बढ्ने गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री