पूर्वी भारतको कोलकातामा मे महिनामा कोभिड भएका एक अधबैँसे पुरुषलाई एउटा स्थानीय अस्पतालमा सघन उपार कक्ष आईसीयूमा भर्ना गरियो।
स्थिति बिग्रिन थालेपछि उनलाई भेन्टिलेटरमा राखियो। कोभिडका कारण गम्भीर बिरामी परेका अरू बिरामीलाई जस्तै उनलाई पनि जीवन रक्षार्थ स्टेरोइड दिइयो।
आईसीयूमा लामो समय बसेपछि उनी कोभिडमुक्त भए। तर अस्पतालबाट घर पठाउन लागेको बेला चिकित्सकहरूले उनमा औषधिप्रतिरोधी एउटा डरलाग्दो ढुसीको सङ्क्रमण भएको पत्ता लगाए।
क्यान्डिडा अरिस नामक उक्त ढुसी अस्पतालमा भएका बिरामीमा सङ्क्रमण गराउन सक्ने सम्भावना भएको एउटा सूक्ष्मजीव हो। यो मानिसको रक्तप्रणालीमा फैलिन सक्छ।
यो ढुसी विश्वभरि क्रिटिकल केअर यूनिटमा प्रायः फेला पर्ने सूक्ष्मजीव हो। यसको सङ्क्रमण हुँदा मृत्युदर ७० प्रतिशत छ।
“कोभिड-१९ को दोस्रो लहरका बेला हामीले यो सङ्क्रमण भएका बिरामीको सङ्ख्या बढिरहेको पाएका छौँ,” मुम्बईमा कार्यरत सङ्क्रामक रोग विशेषज्ञ डा. ओम् श्रीवास्तव भन्छन्।
“आईसीयूमा धेरै बिरामी छन् अनि तीमध्ये धेरै जनालाई स्टेरोइडको उच्च मात्रा दिइएको छ। त्यो नै कारण हुनसक्छ।”
वी.वी.सीबाट




