बाँके । बाँकेका थप चार कोरोना संक्रमितको उपचारकै क्रममा ज्यान गएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा उपचाररत राजापुर नगरपालिका–२ का २७ वर्षिय पुरुषको गयराती मृत्यु भएको छ । वैशाख १७ गते पिसिआर परीक्षण गराएका उनी हिजो मात्रै अस्पताल भर्ना भएका थिए ।
नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा उपचाररत४० वर्षिय पुरुषको पनि गए राति मृत्यु भएको छ । वैजनाथ गाउँपालिका–२ बाँकेका उनी वैशाख १४ गते अस्पताल भर्ना भएका थिए । उनी संक्रमित भएको पुष्टि वैशाख १७ गते भएको थियो । त्यसैगरी, भेरी अस्पतालमा उपचाररत कोहलपुर–११ की ४० वर्षीया महिलाको पनि गए राति मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेजमा १६ गते कोरोना पुष्टि भएपछि १७ गते उनी भेरी अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् ।
डिसिसिएमसी) बाँकेका फोकल पर्सन वलीका अनुसार एन्टीजेन परीक्षणमाफर्त १७ गते कोरोना पुष्टि भई जनक शिक्षा सामाग्री केन्द्रको आइसोलेसनमा बसेका खजुरा गाउँपालिका–३ बाँकेका ५५ वर्षिय पुरुषको पनि मृत्यु भएको छ । योसँगै हालसम्म बाँके जिल्लाका मात्र १२३ संक्रमित र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ११९ संक्रमित गरी २४२ संक्रमितको मृत्यु भएको छ ।



