काठमाडौँ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को सिफारिसका सम्बन्धमा आवश्यक निर्णय लिन बैठक बस्न लागेको हो ।
कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि भइरहेको सन्दर्भमा न्युनिकरणका लागि के गर्न सकिन्छ भन्नेबारे छलफल गर्न बैठक गर्न लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीले जानकारी दिए । ‘सीसीएमसीको सिफारिसबारे हामी जानकार छौं,’ उनले भने, ‘हामी छलफल गर्दैछौँ, त्यसपछि निर्णय गर्नेछौँ ।’
सिसीएमसीले ५ सयभन्दा बढी कोरोना संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन सिफारिस गरेपछि काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओ छलफलमा जुट्न लागेका हुन् । यसैबीच काठमाडौं, ललितपुर र भक्तपुरको जिल्ला प्रशासन कार्यालयमा आजदेखि अत्यावश्यकबाहेक काम नहुने भएको छ ।




