काठमाडौँ । काठमाडौं उपत्यकासहित देशका धेरैजसो भूभागमा वर्षा भएसँगै वायु प्रदूषण कम भएको छ । काठमाडौँसहित देशको पहाडी भू-भागका उत्यकाहरुमा करिब एक सातादेखि उच्च वायु प्रदूषण भई तुवाँलोले ढाकेको थियो ।
वर्षाले वायुमण्डलमा धेरै दिनदेखि थुप्रिएको घातक प्रदूषण घटाउन मद्दत पुगेको वरिष्ठ मौसमविज्ञ ऋषिराम शर्माले बताए । उनका अनुसार पानी पार्ने प्रणाली विकाससँगै हावासमेत चलेकाले प्रदूषण घट्न मद्दत पुग्नेछ । केही दिनदेखि हावासमेत नचल्दा प्रदूषण वायुमण्डलको तल्लो क्षेत्रमै तैरिएर बसेको थियो ।
यसैबीच, वायु प्रदूषणका कारण बन्द रहेको शैक्षिक संस्था आजदेखि नियमित सञ्चालनमा आएका छन् । वातावरणमा सुधार आएको भन्दै विद्यालय नियमित गर्न लागिएको शिक्षा मन्त्रालयले जनाएको छ ।
सरकारले यसअघि मंगलबारदेखि चार दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो । तर कतिपय स्थानीय तहले भने संघीय सरकारले काठमाडौंलाई मात्रै हेरेर निर्णय गरेको भन्दै विद्यालय सञ्चालनमा ल्याएका थिए । सरकारको निर्णयपछि क्याम्पसस्तरका परीक्षाबाहेकका सबै पढाइ रोकिएको थियो ।




