चीनबाट प्राप्त ८ लाख डोज कोरोना खोप नेपाल आइपुग्दै

काठमाडौँ । छिमेकी राष्ट्र चीनले अनुदान दिएको ८ लाख डोज कोरोना खोप काठमाडौं ल्याइँदै छ । खोप लिन आइतबार बेइजिङ पुगेको नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज आज काठमाडौं आइपुग्ने भएको हो ।

निगमका प्रवक्ता करिष्मा श्रेष्ठका अनुसार खोप बोकेको जहाज साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ । चीन सरकारले कोरोनाविरुद्धको ‘भेरासेल’ खोप नेपाललाई उपलब्ध गराउन लागेको हो ।

भारतको भन्दा के फरक ?
चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको उक्त खोपलाई अक्सफर्ड-आस्ट्राजेनेकाले उत्पादन गरेको कोभिशील्डको जस्तै तापक्रममा भण्डारण गर्न सकिनेछ ।

सिनोभ्याकको खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताए । यो खोप पनि दुई मात्रा लगाउनुपर्छ। पहिलो मात्र लगाएको २१ देखि २८ दिनभित्र अर्को मात्रा लगाउनुपर्ने बताइएको छ ।

विभिन्न परीक्षणहरूमा चिनियाँ खोप कोभिशील्डभन्दा बढी प्रभावकारी देखिएको उनले बताए । यद्यपि किन्दाखेरि यो खोप कोभिसिल्डको तुलनामा महँगो पर्ने बताइएको छ ।

यसअघि भारतीय अनुदान, भारतकै सीरम इन्स्टिट्यूट अफ इन्डियासँग किनिएको र कोभ्याक्स सुविधा अन्तर्गत नेपालले खोप प्राप्त गरिसकेको छ । सीरम इन्स्टिट्यूट अफ इन्डियासँग नेपालले किन्न सम्झौता गरेको १० लाख मात्रा खोप भने अझै आउन बाँकी छ ।

कतिले लगाए खोप ?
अधिकारीहरूका अनुसार आइतवारसम्म नेपालमा १७ लाख ९० हजार १ सय २५ जनाले कोरोनाभाइरसविरुद्ध खोपको पहिलो मात्रा लगाइसकेका छन् । त्यो भनेको नेपालको कुल जनसङ्ख्याको ५.९३ प्रतिशत हो ।

पहिलो चरणमा पहिलो मात्रा खोप लगाएकाहरूले आगामी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा खोप लगाउन पाउनेछन् । अहिले नेपालमा करिब साढे पाँच लाख मात्रा खोप बाँकी रहेको छ भने भारतको सीरम इन्स्टिट्यूट अफ इन्डियाबाट १० लाख मात्रा आउन बाँकी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री