काठमाडाैँ । आज फागुन शुक्ल पूर्णिमा । रंगहरुको पर्व फागु पूर्णिमा अर्थात् होली पर्व मनाइने दिन । आज नेपालका हिमाली तथा पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ यो पर्व मनाइँदैछ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । आजको दिन एकअर्कामा रंगको होली खेले र मनाउने गरिन्छ ।
पछिल्लो समय फागु पूर्णिमामा सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम पनि बन्द हुँदै गएको छ । विगतका वर्ष जस्तै यसवर्ष पनि कोरोना संक्रमणको विश्वव्यापी प्रभावका कारण फागु पर्वमा पानी र रङ प्रयोग नगर्न तथा घर परिवार भित्रै फागु पूर्णिमा मनाउन पनि प्रशासनले अनुरोध गरेको छ ।
फागु पूर्णिमाको अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसहरुले वातावरणलाई रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारका काममा प्रयोगमा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने तथा अनिष्ट टर्छ भन्ने विश्वासका साथ चीर जलाए पछिको खरानीको टीका लगाउने प्रचलन छ ।
हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकाका साथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाइ ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाएर सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको धार्मिक कथा यो पर्वसँग जोडिएको छ ।
त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली अर्थात फागु खेल्ने परम्परा चलेको धार्मिक विश्वास रहेको छ ।
द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भएर मारिइन् । पुतनालाई वज्रवासीले जलाएर फागु महोत्सव मनाउने परम्परा चलेको पनि हिन्दु धर्मग्रन्थमा उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले त्यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीत कालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीत कालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि रहेको छ ।
फागु पर्वका उपलक्ष्यमा हरेक वर्ष सरकारले पूर्णिमाका दिन हिमाली तथा पहाडी जिल्लामा र भोलिपल्ट तराईका जिल्लामा सार्वजनिक बिदा दिंदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । यस वर्ष पनि तराईमा सोमबार होली मनाइँदै छ ।




