काठमाडाैँ । मेलम्चीको पानी पिउने उपत्यकाबासीको प्रतिक्षाको घडी सकिएको छ । सुन्दरीजलमा प्रशोधन भएर आजदेखि काठमाडौंका घरघरका धारामा वितरण गर्न लागिएको हो ।
गत फागुन २२ गते सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा खसालिएको पानी आज काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल) कै पाइपलाइनबाट वितरण गर्न लागिएको हो । पहिलो दिन आज चार करोड लिटर पानी धारामा पठाउने तयारी भइरहेको खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिएका छन् ।
उपत्यकाका तीन वटै जिल्लामा मेलम्चीको पानी वितरण हुने भए पनि पहिलो चरणमा काठमाडौं जिल्लाका पनि सीमित ठाउँमा मात्रै पानी पठाउने तयारी छ । काठमाडौं उपत्यकामा दैनिक ४५ करोड लिटर पानीको माग छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ । उपत्यका बासीको थप मागलाई पूर्ति गर्न सिन्धुपाल्चोककै याङ्ग्री खोलाबाट १७ करोड लिटर र लार्केबाट १७ गरी दैनिक ३४ करोड लिटर पानी ल्याउने सरकारको योजना छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल)का प्रवक्ता प्रकाश कुमार राईका अनुसार मेलम्ची खानेपानी र केयुकेयलबाट उत्पादित पानी एकसाथ वितरण गरिने छ । केयुकेयलबाट वर्षातको समयमा दैनिक करिब १७ करोड लिटर र सुख्खा याममा १० करोड लिटर पानी भूमिगत स्रोतबाट आपूर्ति हुँदै आएको छ ।
खानेपानी मन्त्रालयका अनुसार आइतबार र सोमबार दैनिक ४ करोड लिटर, मंगलबार साढे ५ करोड लिटर पानी वितरण हुनेछ । आगामी बुधबारदेखि दैनिक साढे ८ करोड लिटर पानी वितरण गर्ने तयारी छ ।




