काठमाडौं। देशभर जाडो बढ्दै गएको छ । जसका कारण सर्वसाधरण नगरिकको जनजीवन कष्टप्रद बन्दै गएको छ । काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ ।
बिहान साढे ६ बजेको तापक्रम २.३ डिग्री सेल्सियस मापन गरिएको छ । ‘आज विहान साढे ६ बजेको तापक्रम २.३ डिग्री सेल्सियस मापन गरिएको छ । यो वर्षकै न्यून तापक्रम हो’, मौसमविद् मञ्जु बासीले भनिन् । दिउँसो १७–१९ डिग्री सेल्सियस तापक्रम रहने उनले जानकारी दिइन् ।
काठमाडौं उपत्यकामा आज दिनभर मौसम सफा रहने जनाइएको छ । यद्यपि घाम लागे पनि त्यति धेरै तातो महसुस नहुने मौसमविद् बासीले जानकारी दिएकी छिन् ।
बिहान तराई तथा पहाडका केही भागमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । ‘पश्चिम तराईमा बाक्लो हुस्सु लागिरहेको छ । तर यो मध्यान्हसम्म विस्तारै हटेर जाने छ । पश्चिम तराईको तुलनामा पूर्वी तराईमा केही पातलो हुस्सु लागिरहेको छ’, उनी भन्छिन्, ‘वागमती र गण्डकीको पहाडी भू–भागमा पनि कुहिरो लागिरहेको छ ।’
तराईमा दिउँसोसम्म लाग्ने हुस्सुका कारण तापक्रममा आउने कमीका कारण चिसो हुने भन्दै त्यसबाट बच्न आवश्यक सतर्क हुनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईमा चिसोबाट बच्न बिहान बेलुका चोकचोकमा आगो बालेर ताप्ने चलन छ ।




