काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे छलफल गर्न आज दिउँसो पदाधिकारी बैठक बोलाएको डाकेकाे छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारले अकस्मात् ल्याएको अध्यादेशबारे शीर्ष नेता सम्मिलित बैठकमा छलफल गरिने जानकारी दिएका छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेलले परिषद्को मूल मर्मविपरीत संवैधानिक निकायमा आफूअनुकूल मान्छेहरु भर्ती गर्ने नियतले अध्यादेश ल्याइएको दाबी गरेका छन्। ‘संवैधानिक निकायमा आफूअनुकुलका मानिस भर्ने कुत्सित नियतका साथ संसद अधिवेशनलाई छल्नका लागि हतार÷हतारमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्नु सर्वसत्तावाद र निरकुंशतातर्फ सरकार अगाडि बढेको थप प्रमाण हो’, नेता पौडेलले जानकारी दिएका छन् । त्यस्तै उपसभापति विमलेन्द्र निधिले अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी काम भएको आरोप लगाएका छन्।
त्यस्तै उता महामन्त्री पूर्णबहादुर खड्काले संसद बैठक आह्वान गर्नुको साटो अध्यादेश जारी गर्नु दुराशययुक्त, सर्वसत्तावादी सोच र संविधानको मर्म र भावना बिपरीतको संविधान विरोधी कदमको परिणाम भएको उल्लेख गरेका छन्। केन्द्रीय सदस्य गगनकुमार थापाले संविधानको व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर राष्ट्रपतिसँगको साठगाँठमा अध्यादेश जारी गरिएको वताएका छन्।




