प्लाष्टिकको पोखरीमा डुबेर दिदी-बहिनीसहित तीन बालिकाको मृत्यु

तेह्रथुम । तेह्रथुममा तरकारी खेतीका लागि बनाइएको प्लाष्टिकको पोखरीमा डुबेर एकै परिवारका दुईसहित तीन बालिकाको ज्यान गएको छ ।

पोखरीमा डुबेर छथर गाउँपालिका–६ सुदापका दिदीबहिनी ७ वर्षीया रञ्जना र ५ वर्षीया रोजनी लिम्बू र ८ वर्षीया सुहानाको ज्यान गएको तेह्रथुम जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कोमल ठाकुरले जानकारी दिएका छन् । रञ्जना र रोजनी स्थानीय इन्द्रबहादुर लिम्बूका छोरी हुन् भने सुहाना देवेन्द्र लिम्बूकी छोरी रहेको प्रहरीले जानकारी दिएको छ ।

ठाकुरका अनुसार घटना शनिबार साँझको हो । त्यस दिन बिहान खेल्न घरबाट निस्केका उनीहरुलाई खेतीपातीमा व्यस्त अभिभावकले दिउँसो १२–१ बजेतिर कता गए भनेर खोज्न थाले । त्यस क्रममा शनिबार साँझ उनीहरु स्थानीय प्रगति कृषक समूहले बनाएको पोखरीमा मृत फेला परेका हुन् ।

‘पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको भनेर वडाध्यक्ष टेकराज आङखेवाले हामीलाई शनिबार साँझ ६ः४० बजेतिर खबर गर्नुभयो,’ प्रहरी निरीक्षक ठाकुरले भने, ‘त्यसपछि प्रहरी टोली घटनास्थल गएको हो ।’

अहिले पोस्टमार्टमका लागि शव जिल्ला अस्पताल लैजाने तयारी भइरहेको प्रहरी निरीक्षक ठाकुरले बताए । मृतक एक बालिकाकी आमा धरानबाट आउँदै गरेको जानकारी दिंदै ठाकुरले भने, ‘उहाँ आइपुगेपछि तीन वटै शव पोष्टमार्टमका लागि अस्पताल लैजाने तयारी गरेका छौं ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री