चिनी मिलले दिएनन् ९० करोड, उखु किसानले थाले काठमाडौंमा आन्दोलन

काठमाडौं । चिनी मिलहरुबाट ९० करोड भुक्तानी नदिइ झुलाएपछि पीडित सर्लाहीका उखु किसानहरुले काठमाडौंमा आन्दोलन थालेका छन् । उखुको भुक्तानी नपाएपछि बाध्य भएर काठमाडौं आउनु परेको सर्लाहीका किसान राकेश मिश्रले जानकारी दिए ।

बिहान ११ बजेदेखि माइतीघर मण्डलामा हुने आन्दोलनका लागि केही किसान काठमाडौं आइसकेका र केही आउँदै गरेका मिश्रले जानकारी दिएका छन् । गएको वर्ष पनि चिसो मौसमको सामना गर्दै माइतीघरमा धर्ना दिएका किसानहरुलाई सरकारले भुक्तानी दिलाउने सहमति गरेपछि फर्किएका थिए । तर सरकारले गरेको पाँचबुँदे सहमति कार्यान्वयन नभएकाले यस वर्ष आफूहरुले पाउनु पर्ने सबै रकम नपाएसम्म अन्दोलन नरोक्ने किसान मिश्रले बताए ।

आन्दोलनको अगुवाइ उखु किसान संघर्ष समिति सर्लाहीले गरेको पनि मिश्रले जानकारी दिए । माइतीघरमा हुने आन्दोलनमा एक हजारभन्दा धेरै किसानले सहभागिता जनाउने मिश्रले बताएका छन् । चिनी मिलबाट वर्षौंदेखि भुक्तानी नपाएर पीडित बनेका आफूहरुलाई सरकारले समेत झुलाएको उनीहरुको गुनासो छ ।

यसअघि किसानहरू २३ कात्तिकमा काठमाडौं आएका थिए । उनीहरूले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई भेटेर ज्ञापनपत्र बुझाउँदै बक्यौता भुक्तानी नभए आन्दोलन गर्ने जानकारी गराएका थिए । अहिलेसम्म बक्यौता भुक्तानी नभएको र आन्दोलन गर्ने तयारी गर्दा समेत कुनै सरकारी अधिकारीले सम्पर्क नगरेको संरक्षक मिश्रले बताए ।

नगदे बालीका रूपमा परिचित उखुखेती गर्ने किसानलाई बर्षेनी चिनी मिल सञ्चालकले भुक्तानीका लागि झुलाउने गरेका छन् । त्यसैले समयमै पैसा नपाएका किसानको अहिलेसम्म ९० करोड बक्यौता पुगिसकेको छ । किसानहरूको ठूलो रकम बक्यौता बापत रहेको, तर तिर्नुको सट्टा उद्योग बन्द गरेर दुःख दिन थालेको निष्कर्षसहित आन्दोलनको घोषणा गरेका हुन् ।

देशभर सञ्चालित १३ मध्ये ६ वटा उद्योगले भुक्तानी नदिएर दुःख दिएको किसानहरूको गुनासो छ । उनीहरूका अनुसार कुल ८९ करोड ४० लाख रुपैयाँ भुक्तानी पाउन बाँकी छ । सबैभन्दा बढी ३५ करोड रुपैयाँ बक्यौता रहेको रौतहटको श्रीराम सुगर मिल बन्द छ । सो मिलको चल–अचल सम्पत्ति बिक्री गरेर किसानलाई भुक्तानी दिने प्रक्रिया अघि बढाइएको छ ।

यस्तै सर्लाहीको अन्नपूर्ण सुगर मिलले ३० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । उद्योग सो क्षेत्रमा ०७१ मा स्थापना भएको र सोही वर्षदेखिको बक्यौता तिर्न बाँकी छ । यो मिल चालू सिजनमा सञ्चालन गरी उखु क्रसिङ गर्ने र त्यसबाट उत्पादित चिनी बिक्री गरेर बक्यौता भुक्तानी गर्ने मिल व्यवस्थापनको रणनीति छ ।

सर्लाहीकै गोडैता नगरपालिकामा रहेको महालक्ष्मी सुगर मिलले ६ करोड रुपैयाँ बक्यौता भुक्तानी गर्नुछ । यो मिलले न्यूनतम समर्थन मूल्यभन्दा प्रतिक्विन्टल ३६ रुपैयाँ कम भुक्तानी दिएर किसानलाई ठगेको छ । सरकारी कार्यालयमा सबै रकम भुक्तानी दिएको दाबी मिल प्रशासनले गरेको छ ।

त्यस्तै, नवलपरासीको लुम्बिनी चिनी मिलले १० करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको किसानहरूको भनाइ छ । सो मिल स्वर्गीय उद्योगी मनीष अग्रवालले सरकारबाट लिजमा लिएर सञ्चालन गरेका थिए । दुई वर्षअघि उनको निधन भएयता भुक्तानीमा समस्या देखिएको हो ।

अहिले सो मिल सुनिता गोयलले सञ्चालन गर्दै आए पनि भुक्तानी दिन आनाकानी गर्दै आएकी छिन् । नवलपरासीकै इन्दिरा सुगर मिलले ८ करोड र बागमती खाँडसरी मिलले ४० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको किसानहरूले बताएका छन् ।

उखु किसानले भुक्तानी नपाएको गुनासोपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले समेत चिनी मिलका सञ्चालकलाई बोलाएर ८ मंसिरमा छलफल गरेको थियो । सो छलफलमा ६९ करोड मात्र भुक्तानी दिन बाँकी रहेको देखिएको मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले जानकारी दिएकी छिन् ।

उनका अनुसार लुम्बिनी चिनी मिलले ८ करोड ४१ लाख, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख, अन्नपूर्ण सुगर मिलले २९ करोड २० लाख र श्रीराम सुगर मिलले २६ करोड ७७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको मन्त्रालयको भनाइ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री