काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई आज मानार्थ महारथीको दर्जा दिँदै छ । प्रधानसेनापति पुर्णचन्द्र थापाको औपचारिक निमन्त्रणमा नेपाल आएका सेनाध्यक्ष नरवणेलाई आज अपरान्ह राष्ट्रपति विद्यादेवि भण्डारीले मानार्थ महारथीको दर्जा दिँदैछिन् ।
सन् १९५० मा पहिलो पटक सुरु भएको मानार्थ महारथीको दर्जा दिने परम्पराले ७० वर्षसम्म पनि निरन्तरता पाइरहेको छ । जसअनुसार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले २८ पुस २०७५ मै भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको दर्ज्यानी चिह्न लगाइसकेका छन् ।
शीतलनिवासमा दर्ज्यानी चिह्न लगाउनुअघि नरवणेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पणका लागि पुग्नेछन् । उनले जंगीअड्डामा सैनिक गारत निरीक्षणपछि समकक्षी थापासँग औपचारिक संवाद गर्ने कार्यक्रम छ । उनको सम्मानमा आज नै जङ्गिअड्डामा रात्रिभोज आयोजना हुनेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय स्थल सेनाध्यक्ष नरवणेले शुक्रबार औपचारिक भेट गर्नुेछन् । नेपाली सेनाले स्थलसेनाध्यक्ष नरवणेको भ्रमणको मुख्य उद्देश्य परम्पराको निरन्तरता भने पनि नेपालका कालापानी, लिपुुलेक र लिम्पियाधुरा क्षेत्रका भूभाग भारतले राजनीतिक नक्सामा समेटेपछि उत्पन्न द्विपक्षीय सम्बन्ध सुुदृढ तुल्याउन उनको नेपालमा हुने भेटघाट महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।




