रअ प्रमुख भेटबारे प्रधानमन्त्रीको प्रस्टीकरण- ‘मोदीले दूत पठाउँछु भने, सामन्त पो आएछन्’

काठमाडौं । पार्टी विवाद उत्कर्षतिर अभिमुख हुँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्रीहरू पुनः काठमाडौंमा सक्रिय हुन थालेका छन् । शंकर पोखरेलले प्रधानमन्त्री ओलीको सन्देश बोकेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुमटार र बालुवाटार ओहोरदोहोर गरिरहेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पनि काठमाडौंमै छन् । ओलीनिकट नेताहरूले प्रचण्डसँग पनि संवाद लिइरहेका छन् साथै प्रधानमन्त्रीसँग पनि दिनहुँजसो छलफल गरिरहेका छन् । उनीहरूले प्रचण्डसँगको असन्तुष्टिको कारण पनि बुझिरहेका छन् । ओलीनिकट नेताहरूले भारतीय खुफिया एजेन्सी रअ प्रमुख सामन्तकुमार गोयलसँगको भेटबाट पनि चासो राखेका थिए ।

‘हामीले प्रधानमन्त्रीलाई गोयल नै किन आए, उनीहरूले अरू राजनीतिक दूत किन पठाएनन् ? भनेर पनि चासो राख्यौं’, प्रधानमन्त्रीसँगको छलफलमा सहभागी एक नेताले भने, ‘प्रधानमन्त्रीले भारतले नै दूत पठाउँछु भनेको थियो तर सामन्त गोयल आएको भनेर जवाफ दिनुभयो ।’

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच त्यहाँको स्वतन्त्रता दिवसका दिन टेलिफोन संवाद भएको थियो । त्यही दिन मोदीले दूत पठाउने प्रस्ताव गरेको ओलीको ब्रिफिङ थियो ।

‘कुराकानीको अन्तिममा दूत आउँछन् भनेका थिए’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘कूटनीतिक भेटमा को पठाउनुहुन्छ भनेर प्रश्न गर्न मिलेन । सामन्त पो पठाएछन् । पठाएपछि भेट्दिनँ, समान, बराबरी हैसियत भएन, पोर्टफोलियो मिलेन भनेर पन्छन पनि मिलेन । द्विपक्षीय वार्तामा बराबरी हैसियत खोज्ने होला, सन्देशवाहक पनि त्यही हैसियतको खोज्ने कुरा आएन ।’

सामन्त गोयलसँग शिष्टाचार भेट मात्रै भएको र द्विपक्षीय वार्ता नभएको प्रधानमन्त्रीले प्रस्टीकरण दिएका थिए । ‘उनले मोदीको सन्देश मात्रै लिएर आएका हुन् । पछिल्लो सीमा समस्या वार्ताद्वारा समाधान होस् भन्ने भारतले चाहेको र छिटै राजनीतिक तहमा वार्ता हुनेछ भन्ने अपेक्षा पनि उसको थियो’, गोयल वार्ताबारे प्रधानमन्त्रीले आफू निकटलाई भनेका थिए । –नागरिक दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पर्यटन बोर्ड सीईओ छनोट कार्य रोक्ने अन्तरिम आदेशलाई दियो उच्च अदालतले निरन्तरता

काठमाडौँ । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटसम्बन्धी कुनै पनि …

प्रतिकृया दिनुहॊस