पोखरा । गण्डकी प्रदेशमा शनिबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा शनिबार थप २१ जनामा कोरोना पुष्टि भएको हो ।
नयाँ संक्रमितहरु सबै नवलपरासी पूर्वको विनय त्रिवेणी र गैडाकोटका रहेका छन् । विनयत्रिवेणीको वडा नम्बर ६ का ११ जना, ७ का ८ जना रहेका छन् भने गैडाकोटको वडा नम्बर ६ र ८ का एक एक जना रहेका छन् । सबै कन्ट्रयाक्ट ट्रेसीङबाट पत्ता लागेका संक्रमित भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
अहिलेसम्म प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६७२ रहेको छ भने निको हुने दर ८४.६९ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । त्यस्तै प्रदेशमा अहिलेसम्म २०७७ जना संक्रमित भएका छन् भने गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।




