काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त श्री सहयोगी विकास बैंक (जनकपुर केन्द्रीय कार्यालय रहेको) लाई नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारकोे कार्यालयको स्वीकृति पश्चात प्राप्ति गरी २०७७ साल असार २० गतेबाट एकीकृत कारोबार शुभारम्भ गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र साबिकको सहयोगी विकास बैंक लिमिटेडका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु सहभागी भएको एक विशेष समारोहबीच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गरे।
२०७७ असार १९ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप रु. ९१ अर्ब ३५ करोड रुपैयाँ र सर्वसाधारणलाई दिएको ऋण लगानी रु. ७९ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।
प्राप्ति पश्चात बैंकको कुल शाखा १०९ पुगेको छ । हाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।
धनुषा, महोत्तरी मा हाल ४ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आएको यस बैंकले अब उपरान्त कुल १७ वटा शाखाहरुबाट उच्चस्तरीय वित्तीय सेवाहरु थप परिस्कृत रुपमा प्रदान गर्नेछ जसबाट यस क्षेत्रका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ ।
सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ ।
प्रतिकृया दिनुहॊस