लालबन्दी-मरिण जोड्ने सडकको डीपीआर बनाउने सहमति

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाबाट छिमेकी सिन्धुलीको मरिण गाउँपालिका जोड्ने सडक निर्माणका लागि डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गरिने भएको छ ।

लालबन्दी नगरपालिका र मरिण गाउँपालिकाबीच शनिबार भएको छलफलमा नगरपालिका-१३ र १४ को चुरेक्षेत्र हुँदै गाउँपालिका-५ बडीमुहान, अम्बास जोड्ने सडक निमार्णका लागि डीपीआर तयार गर्ने सहमति भएको हो ।

नगरपालिकाका प्रमुख मानबहादुर खड्का र गाउँपालिका अध्यक्ष पानीराज बम्जनसहितको जनप्रतिनिधिबीच भएको छलफलले दीर्घकालीनरूपमा सडक निर्माणका लागि डिपिआर निर्माण गर्ने र तत्काल सञ्चालनका लागि सडकको स्तरोन्नति गर्ने सहमति भएको नगरपालिकाका उपप्रमुख शान्तिकुमारी लामाले जानकारी दिए ।

सडकको डीपीआर निर्माण र स्तरोन्नतिका लागि आगामी आर्थिक वर्ष २०७७/७८ मा दुवै स्थानीय निकायले बजेट विनियोजन गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष बम्जनले बताए । ‘दुवै स्थानीय तहका जनप्रतिनिधिबीच छलफल भयो ।

तत्कालका लागि नगरपालिकाभित्र पर्ने सडक र गाउँपालिकाभित्र पर्ने सडकको स्तरोन्नति गर्ने र आगामी आवमा बजेट विनियोजित गर्ने सहमति भएको छ । दीर्घकालीनरूपमा सडक निर्माणका लागि डिपिआर तयार गर्ने सहमति भएको छ’, नगरपालिकाका प्रमुख खड्काले भने ।

दुवै स्थानीय निकायले आआफ्नो स्थानीय निकायभित्रका सडकको स्तरोन्नति गर्दा बाँकी थोरै क्षेत्रको मात्रै सडक जोड्ने काम बाँकी रहने र आर्थिक भार पनि कम पर्ने गाउँपालिकाका अध्यक्ष बम्जनले बताए । सडकको डिपिआर तयार गर्नका लागि आगामी आव २०७७/७८ मा दुवै स्थानीय तहहरुले स्रोतले भएसम्म बजेट छुट्याउने सहमति भएको अध्यक्ष बम्जनको भनाइ छ ।

‘यो सडक निर्माणमा स्थानीय तहहरुले मात्रै सकिँदैन । हामीले स्रोतले पुगेसम्म लगानी गर्छौँ । डीपीआरदेखि सडक निर्माणसम्मका लागि बजेट नपुगेको खण्डमा सङ्घ, प्रदेश सरकारसँग पनि बजेट माग गर्नुपर्छ ।’ सङ्घ र प्रदेश सरकारबाट बजेट ल्याउन दुवै स्थानीय तहले समन्वय गर्ने सहमति भएको दुवै स्थानीय निकायका प्रमुखले बताए ।

करिब ३५ किलोमिटर लम्बाइ रहेको सडक निर्माणपछि तराईसँग मरिण गाउँपालिकाको आवातजावतमा सहज हुनेछ । सिन्धुलीको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाको व्यापारिक केन्द्रका रूपमा रहेको लालबन्दी बजार उक्त सडक निर्माणपछि थप व्यस्त रहने हुँदा सोहीअनुसार व्यवस्थित बनाउने नगरले तयारीसमेत गरेको नगर उपप्रमुख लामाले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री