काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् नेविसंघका निवर्तमान केन्द्रीय अध्यक्ष नैनसिंह महरले जातीय छुवाछुतबाट समाजले अझै छुट्कारा नपाउनु दुःखद् भएको बताएका छन् । बिपी कोईराला नेतृत्वको सरकारले छुवाछुत प्रथाको अन्त्य गरेको दशकौं भइसक्दा पनि समाजमा जरा गाडेर बस्नु दुःखद् भएको बताए ।
जाजरकोटको भेरी नगरपालिका ४ खलंगाका नवराज विक र रुकुमपश्चिमको चौरजहारीकी सुष्मा मल्लबीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो । गहिरो माया बसेका उनीहरूले विवाह बन्धनमा बाँधिने निर्णय गरेकैले केटी पक्षले दलित भएकै निहुँमा कुटेर हत्या गर्नु निन्दनीय भएको नेता महरले बताए ।
बेहुली लिन गएका जाजरकोटको भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज विकको शव शुक्रबार बिहान भेरी नदी किनारमा भेटियो । गाउँलेहरूको कुटाइबाट नवराजसँगै अर्को एक जनाको मृत्यु भएको हुनु र ४ जना वेपत्ता पारिएको घटना वर्वर र आपत्ति जनक रहेको नेता महरको भनाई छ ।
निश्चपक्ष छानवीन गरि दोषीमाथी कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । १३ प्रतिशतभन्दा बढ़ी जनसंख्या रहेको दलित समुदायमाथी बेला(बेला हुने यस्ता हिंसाले डरलाग्दो रुप लिइरहेको उनले बताए । समाज शिक्षित बन्दै जाँदा यस्ता प्रथाको अन्त्य हुनुपर्नेमा समाजमा रुढिग्रस्त सोच कायमै रहनु चिन्ताको बिषय भएको उनको भनाइ छ ।



