अज्ञात रोगले महोत्तरीमा थप एकको मृत्यु, मृतकको संख्या १२ पुग्यो

महोत्तरी । महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

शनिबार बर्दिवास वडा नम्बर १२ स्थित इटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय मोतिलाल प्रजापतिको शनिवार साँझ र आज भँगहा नगरपालिका ७ का रुपनरायण सिँह दनुवारको आज विहान मृत्यु भएको छ ।

यस्तै भङ्गाहा वडा नम्बर ६ जमुनियाँका ४८ वर्षीय पलट साहको पनि शनिबार मृत्यु भएपछि मृतकको संख्या १२ पुगेको हो। बर्दिवास वडा नम्बर १२ मेघरोल र भङ्गाहा वडा नम्बर ७ मेघनाथ गोरहन्नामा गत मंगलबारदेखि शुक्रबारसम्म आठ जनाको मृत्यु भइसकेको छ ।

बर्दिवास १२ का चार, भङ्गाहा–७ का छ र भङ्गाहा–६ का एक गरी जम्मा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ती तीनै वडाका बस्ती एकअर्कासँग जोडिएका छन्। भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले घरेलु मदिराको सेवनले ती स्थानीयको मृत्यु हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताए।

बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले मृत्युको कारण शवपरीक्षण जाँचको रिपोर्ट आएपछी मात्र यकीन गर्न सक्ने बताएका हुन । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आज डाक्टर अमृत पोखरेल तथा विश्व स्वास्थ्य सङ्गठनका डाक्टर सुदिपा खड्का र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको टोली यी बस्तीमा पुगेको छ।

टोलीले बिरामीको लक्षणबारे पाएको जानकारी र अन्य पक्षबाट समेत अनुसन्धान गरिरहेको पोखरेलले बताए। मृतकमध्ये सिकेन्द्र सिंह र सुकदेव सिताई महराको शव परीक्षण गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री