आधारभूत स्वास्थ्य सेवा अवरुद्ध, दीर्घरोगीले खाने औषधि अभाव

काठमाडौं । कोरोना भाइरसका कारण आधारभूत स्वास्थ्य सेवा प्रभावित भएको छ । लकडाउनका कारण ५० हजार बालबालिका नियमित खोप सेवाबाट वञ्चित भएका छन् । जन्मिएको १५ महिनामा १२ किसिमको खोप दिइन्छ ।

बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा.झलक गौतमले नियमित खोप सेवा अवरुद्ध भए वा छुटाए कोरोना भन्दा पनि अन्य संक्रामक रोगका कारण बालबालिकाको ज्यान जाने खतरा रहने बताए ।

एक महिनाको अवधिमा ४५ देखि ५० हजार बालबालिकालाई खोप लगाउनुपर्ने उनको भनाइ छ । भाइरलजन्य रोगविरुद्ध लड्ने क्षमता अभिवृद्धिका लागि जन्मिएको १५ दिनभित्र बीसीजी खोप दिइन्छ । क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस, हेमोफिलस, पोलियो, निमोनिया, जापानिज इन्सेफलाइटिस, दादुरा र रुबेलाको खोप जन्मेदेखि १५ महिनाभित्र लगाइसक्नुपर्ने उनले बताए।

डा. गौतमका अनुसार १५ महिनाभित्र ६ लाख २० हजार बालबालिकालाई खोप लगाउनु पर्छ । यसका लागि नवजात शिशुका अभिभावकले खोप केन्द्रमा ६ देखि ७ पटकसम्म ल्याउनु पर्छ । यातायात सञ्चालन नहुँदा धेरै ठाउँमा भ्याक्सिन पठाउन नसकिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । लकडाउनका कारण हिँडडुल गर्न रोक लगाइएको र भ्याक्सिन पनि पर्याप्त नभएको जनाउँदै खोप सेवा सञ्चालन अवरुद्ध हुन पुगेको हो ।

खोप सेवा प्रभावित हुँदा बाल मृत्युदर जोखिम हुने विज्ञको भनाइ छ । नियमित खोप सुरु गर्ने निर्णय भए पनि विशेष खोपअन्तर्गत दादुरा र रुबेलाविरुद्धको खोप सेवा भने तत्कालै सञ्चालन नहुने डा. गौतमले बताए ।

लकडाउन खुलेपछि मात्र ती खोप सुरु गरिनेछ । कोरोना भाइरस महामारी सम्बन्धमा सरकारले अन्तरिम निर्देशिका जारी गरे पनि स्वास्थ्य संस्थाबाट सेवा प्रवाह सुचारु गर्न सकेका छैनन् । निर्देशिकामा पनि कोरोना भाइरसको उपचार गर्ने अस्पताल बाहेक अन्य स्वास्थ्य संस्थाले नियमित आधारभूत स्वास्थ्य सेवा दिनुपर्ने उल्लेख छ । अहिले प्रतिहजार जीवित जन्ममा र नवजात शिशु मृत्युदर २३ छ । त्यस्तै, शिशु मृत्युदर भने शिशु ३३ रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री