काठमाडाैँ । मिडिया काउन्सिल विधेयक संशोधन सहित पारित गर्ने तयारी भएको छ । राष्ट्रियसभा सचिवालयले दिउँसो एक बजे बस्ने राष्ट्रियसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले यो विधेयक छलफल र पारित गरियोस् भन्ने प्रस्ताव राख्ने कार्यसूची बनाएको छ ।
बिहीबारको ‘संभावित कार्यसूची’ को दोस्रो नम्बरको बुँदा (क) मा सञ्चार मन्त्री बाँस्कोटाले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक–२०७५ माथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेे र बुँदा (ख) मा सो ‘विधेयकलाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।
बैठक अघि नै विवादित विषयमा छलफल जुटाउनका लागि सञ्चार मन्त्री बाँस्कोटा तथा दलका नेताहरुसँग राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले छलफल गर्ने कार्यक्रम रहेको अध्यक्ष निकट स्रोतले जानकारी दिएको छ ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुधबार मिडिया काउन्सिल विधेयकमा भएको पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने विषयमा देखिएको विवादबारे संशोधनकर्ताहरुसँग छलफल गरेका छन् ।




