काठमाडाैं । गोरखा नगरपालिका-१० मा टिपरको ठक्करबाट शुक्रबार बिहान एक दूध बेच्न बजार निस्केकी एक महिलाको ज्यान गएको छ ।
गोरखा-१० स्थित गोरखकाली क्रसर उद्योगको ग १ ख ८०२७ नम्बरको टिपरले ठक्कर दिंदा गोरखा–१० अमलापानीकी ५२ वर्षीया मनमाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिएका छन् । घर नजिकैको विद्यालयमा दूध पुर्याउन जाँदै गर्दा बिहान तामाङलाई टिपरले ठक्कर दिएको थियो ।
ठक्करबाट भुइँमा लडेकी मनमायालाई टिपरले ब्याक गरी किचेर मारेको स्थानीयको आरोप छ । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइसकेको प्रहरीले जनाएको छ। स्थानीयले ठक्कर दिने टिपरमा आगजनी गर्नुका साथै क्रसर उद्योगका अन्य पाँच वटा टिपरमा तोडफोड समेत गरेका छन् ।
पीडित परिवारले शव उठाउन नमानेका र उद्योग बन्द गर्न माग गरेका खतिवडाले बताएका छन् । विहानको समयमा हुस्सु लागिरहेको र मानिस कम हिंडिरहेका बेला ठक्कर दिएको टिपरले तामाङलाई ब्याक गरेर किचेको स्थानीयले बताएका छन् ।




