काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पले ललितपुरभित्र क्षति पुर्याई प्रबलीकरण गर्नुपर्ने कूल एक हजार ३८२ निजी घरमध्ये हालसम्म एउटा मात्र घरमा मात्रै प्रबलीकरण भएको छ । ललितपुरमा रहेका छ वटा पालिकामध्ये महाँकाल गाउँपालिकाभित्र रहेको सो एउटा घर प्रबलीकरण भएको हो । ललितपुरमा रहेका तीन गाउँपालिका दुई नगरपालिका र एक महानगरपालिकामध्ये गाउँपालिकाको तुलनामा नगरपालिका र महानगरपालिकाभित्र बाक्लो र परम्परागत बस्ती रहेका कारण प्रबलीकरण गर्न समस्या परेको र छिमेकीले अनुमति पनि नदिएको सम्बन्धित निकायले जानकारी दिएको छ ।
ललितपुरका छ वटा पालिकामध्ये कोञ्ज्योसोम गाउँपालिकाभित्र धेरै घर प्रबलीकरण गर्नुपर्ने छ । सो गाउँपालिकाभित्र प्रबलीकरणका कूल लाभग्राही ३७२ रहेका छन् । यी लाभग्राहीमध्ये ३३० को सम्झौता सम्पन्न भई ३२७ ले प्रथम किस्ता लिएका छन् । दोस्रो किस्ता हालसम्म कसैले पनि नलिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ ललितपुरले शुक्रबार सार्वजनिक गरेको ‘पुनःनिर्माणका चार वर्ष’ नामक पुस्तकमा उल्लेख गरिएको छ ।
पुस्तकमा कोञ्ज्योसोपछि गोदावरी नगरपालिकाभित्र दोस्रो नम्बरमा निजी घर प्रबलीकरण गर्नुपर्ने जानकारी गराइएको छ । गोदावरीमा प्रबलीकरणका लागि ३२८ लाभग्राही रहेका छन् । यी लाभग्राहीमध्ये १६९ निजी घरले प्रबलीकरणका लागि सम्झौता सम्पन्न गरी १६८ ले पहिलो किस्ताको रकम लिएका थिए भने दोस्रो किस्ता कसैले पनि हालसम्म लिएका छैनन् ।
यसैगरी कोञ्ज्योसोम र गोदावरीपछि लपु महानगरपालिकाभित्र तेस्रो नम्बरमा निजी आवास प्रबलीकरण गर्नुपर्ने देखिन्छ । महानगरपालिकाभित्र २६९ लाभग्राही रहेका छन् । यी लाभग्राहीमध्ये १३० ले सम्झौता सम्पन्न गरे । सम्झौता गरेकामध्ये १२६ ले प्रथम किस्ता लिएभने दोस्रो किस्ता महानगरपालिकाभित्र कसैले पनि लिएका छैनन् । कोञ्ज्योसोम, गोदावरी, महानगरपालिकापछि चौथो नम्बरमा वाग्मती गाउँपालिकाभित्रका निजी आवास प्रबलीकरण गर्नुपर्ने छ । यो गाउँपालिकामा २५२ लाभग्राही रहेका छन् । यी लाभग्राहीमध्ये १९९ को सम्झौता सम्पन्न भयो भने १९८ ले प्रथम किस्ता लिए । दोस्रो किस्ता लिएर निजी घर प्रबलीकरण गर्ने काम कसैले गरेका छैनन् ।




