न्यायाधीशको सुरक्षागार्डको पेस्तोल प्रेमीले लिएर फरार

जनकपुर । प्रदेश २ का उच्च अदालत जनकपुरधामकी न्यायाधीश शकुन्तला घिमिरेको सुरक्षागार्डको हतियार (पेस्तोल ) हराएको छ। न्यायाधीश घिमिरेकाे सुरक्षागार्ड महिला प्रहरी जवान रनिता कुमारी केवटकाे गोली लोड गरिएको पेस्तोल हराएको हाे। पेस्तोलमा ७ राउण्ड गोली लोड रहेको बताइएकाे छ।

जनकपुरधाम-४ को भैरव चोकमा डेरा गरी बस्दै आएकी प्रहरी जवान केवटलाई भेट्न आएका उनको प्रेमीले गोली लोड गरिएको पेस्तोल लिएर फरार भएकाे बुझिएको छ। प्रहरी जवान केवटले नै आफ्नो हतियार ‘हराएको’ भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जानकारी गराएपछि हतियार हराएको कुरा बाहिर आएकाे हाे।

तर‚ जिप्रका धनुषाका प्रहरी नायब उपरीक्षकसँग जानकारीकाे लागि  पटक पटक फोन सम्पर्क गरेपनि कल रिसिभ हुन सकेकाे छैन। अन्य प्रहरी अधिकारिले घटना लुकाउने उद्देश्यले घटना सुन्नमा आएको तर वास्तविक के हो जानकारी हुन नसकेको बताएका छन्।

हतियार हराएको सूचनाकै आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी जवान केवटमाथि अनुसन्धान थालेको छ। हाल प्रहरी जवान केवट धनुषा प्रहरीको नियन्त्रणमा रहेकी छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री