डोटी । नेपालीको ठूलो चाड विजयादशमी र दीपावलीलगायतका चाडका बेला पूरै चहलपहल भएका सुदूरपश्चिमका गाउँ विस्तारै सुनसान बन्दै गएका छन् । दशैं-तिहार मनाउन जिल्ला बाहिर तथा विदेशबाट आफ्ना घर आएका स्थानीयवासी विस्तारै आफ्नो काममा फर्किनका लागि गाउँ छाड्न शुरु गरिसकेका छन् ।
उनीहरु फर्किन थालेसँगै यहाँका ग्रामीण बस्तीमा चहलपहल हुन छाडेको डोटीको जोरायल गाउँपालिकाका स्थानीय तथा शिक्षक निर्मल रावतले बताए । उनले भने, ‘परदेश गएका चाडबाडमा घर आएका कारण गाउँमा रमाइलो थियो, अहिले उनीहरु फर्किन थालेपछि यहाँका गाउँघर प्रायः सुनसान हुन थालेका छन् ।’
पढ्न शहर छिरेका र जिल्ला बाहिर जागीर गर्नेले पनि गाउँ छाड्न थालेसँगै गाउँ सुनसान हुन थालेका हुन् । आफ्नो काम गर्ने ठाउँमा जाने र पढ्न गएका विद्यार्थी पनि फर्किन थालेपछि जिल्लामा सञ्चालन हुने सवारीसाधनमा समेत चाप बढेको शैलेश्वरी यातायातका रुटपरमिट इञ्चार्ज प्रेम रावलले बताए ।
दशैं र तिहारमा रमाइलो रहेका सुदूरपश्चिमका डडेल्धुरा, अछाम, बझाङ, बैतडी, दार्चुला, बाजुरा र डोटीका गाउँघरमा विस्तारै रौनक हराउन थालेको दिपायलका स्थानीय तथा सुदूरपश्चिम बस व्यवसायी समिति डोटीका प्रमुख दुर्गा पन्तले बताए ।




