काठमाडाैं – नेपाल वायुसेवा निगमको न्यारो बडी विमान खरिदमा भएको एक अर्बभन्दा बढीको ‘अनियमितता’ काण्ड संसदीय समितिले गुपचुप राखेको छ । एक अर्ब २० करोड घोटाला ठहर गरेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिले प्रतिवेदन लुकाएको छ ।
‘गोप्य’ लेखी थन्क्याइएको प्रतिवेदन प्राप्त भएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । डा.दीपकप्रकाश भट्ट संयोजकत्वको उपसमितिले न्यारो बडी खरिदमा अनियमितता भएको प्रतिवेदन तयार पारेर समितिमा बुझाएको थियो । सत्तासीन नेकपाकै केही नेताका कारण प्रतिवेदन समितिमा गुपचुप राखिएको उच्च स्रोतले बतायो । एयरबससँगको सम्झौता म्याद समाप्त भइसकेपछि पनि एउटा जहाजमा ६० करोड बढी मूल्य बढाएर खरिद गरिएको निष्कर्ष उपसमितिको छ । उपसमितिका अनुसार दुईवटा न्यारो बडी खरिदमा एक अर्ब २० करोडभन्दा बढी घोटाला भएको छ ।
उपसमितिमा सांसदहरू दिव्यमणि राजभण्डारी, रेनुका गुरुङ, सरला यादव र सुदन किराती सदस्य थिए । उपसमितिले वैशाख १९ गते समितिमा प्रतिवेदन बुझाए पनि ‘गोप्य’ छाप लगाएर सार्वजनिक गरिएको छैन । समितिले न्यारो बडीसम्बन्धी छानबिन प्रतिवेदनलाई ‘गोप्य’ राखेर वाइड बडी र चिनियाँ विमानसम्बन्धी उपसमितिको प्रतिवेदन कार्यान्वयन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र पर्यटन मन्त्रालयलाई पठाएको स्रोतले बतायो ।
उपसमितिलाई वाइड बडी, न्यारो बडी र चिनियाँ विमान खरिदसम्बन्धी अनुसन्धान गर्ने जिम्मेवारी तोकिएको थियो । नेपाल एयरलाइन्सका अध्यक्ष मदन खरेल कार्यकारी निर्देशक भएका बेला न्यारो बडी विमान खरिद गरिएको थियो । अहिले नेकपाका केही शीर्ष नेताहरू खरेललाई जोगाउन लागिपरेको समिति सदस्यहरू बताउँछन् ।




