नागढुङ्गा–मुग्लिन सडकखण्ड : अब छ लेनमा विस्तार गरिने

काठमाडौँ  । पृथ्वी राजमार्गमा रहेको नागढुङ्गा–मुग्लिन सडकखण्ड छ लेनमा विस्तार गरिने भएको छ । साबिक दुई लेनमा रहेको सडक अब छ लेनसम्म विस्तार गरिने भएको हो ।

सडकखण्ड विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र ‘ड्रोइङ डिजाइन’ तयार भइसकेको सडक विभागले जनाएको छ । भने वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृतिको अन्तिम चरणमा रहेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति भइनसक्दा थप प्रक्रिया अगाडि बढाउन ढिलाइ भएको सडक विभागले जनाएको छ ।

सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले विश्व बैङ्कको सहयोगमा निर्माण गरिने यो सडकखण्डको विस्तार कार्य आगामी जनवरीबाट सुरु गरिने जानकारी दिए । यो सडक विस्तारका लागि निर्माण र विश्व बैङ्कसँग ऋण सम्झौता एकैसाथ गरिने गरी प्रक्रिया अगाडि बढाइएको र अगामी वर्षको जुनसम्ममा निर्माण सम्झौता गरिने बताउँदै उनले भने, “जुनमा यी दुवै सम्झौता गरिए पनि त्यसअघि वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया, ठेक्कापट्टाको बोलपत्र लगायतका काम पूरा गरिनेछ ।”

सडक निर्माण भएको पाँच वर्षसम्म सम्बन्धित निर्माण कम्पनीले नै सडकको मर्मतसम्भार गर्नुपर्ने प्रावधानसहित अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिनेछ । करिब १६ अर्ब रुपियाँँको लागतमा यो सडकखण्ड विस्तार हुन लागेको हो । यस सडकखण्डको विस्तार अवधि तीन वर्षको हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप