सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका-१० मा आज बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटना भएको हो ।
सात जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य सात जनाको उपचारका लागि अस्पताल लाने क्रममा र धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएका अन्य ५२ जनामध्ये पाँच जनाको मृत्यु भएको हो ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१० भोटसिपास्थित बडहरे चोकमा गाडी दुर्घटना भएको हो । इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस सडकबाट २०० मिटर तल खसेको थियो । दुर्घटनामा पचास बढी घाइते रहेको स्थानीयवासी राजेन्द्र आचार्यले जानकारी दिए ।
छतमा समेत यात्रु भएकाले कम्तीमा पनि ७० बढी यात्रु बसमा रहेको उनले बताए । हेलम्बु यातयातको सो बस कच्ची सडक र यात्रु बढी भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।




